काठमाडौं, जेठ ८ :

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र सदस्य अमनलाल मोदीबीच पुनः विवाद भएको छ। यी दुईबीच यसअघि पनि समितिको बैठकमा पटक–पटक भनाभन हुने गरेको थियो।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा विवाद फेरि दोहोरिएको छ। बैठक सुरु हुनासाथ सांसद मोदीले बोल्न खोज्दा सभापति पोखरेलले रोकेपछि विवाद चर्किएको हो।

सभापति पोखरेलले मोदीमाथि युट्युबर लिएर आएर ‘स्टन्ट’ गर्न खोजेको आरोप लगाउँदै भने, ‘तपाईं युट्युबर बोकेर आउनु भएको छ, सुटिङ गर्न आउनुभएको हो कि बैठकमा सहभागी हुन?’

उनले संसदीय समिति प्रदर्शन गर्ने ठाउँ नभएको उल्लेख गर्दै सञ्चारकर्मीको उपस्थितिमाथि पनि कडाइ गर्ने चेतावनी दिए। समितिभित्र बारम्बार दोहोरिने यस्तो विवादले संसदको कार्यशैलीप्रति प्रश्न उठ्न थालेको छ।