
पाकिस्तानको बलुचिस्तान प्रान्तको खुजदार जिल्लामा सेनाद्वारा सञ्चालित विद्यालयका विद्यार्थी बोकेको स्कुल बसमाआत्मघाती बम आक्रमण हुँदा कम्तीमा पाँच बालबालिकाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन्।
आतङ्ककारीले आर्मी पब्लिक स्कूल (एपीएस) का बालबालिकालाई लक्षित गरी आक्रमण गरेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार घटनामा आत्मघाती हमला भएको पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ।
एक प्रहरी अधिकारीका अनुसार केही घाइतेको अवस्था चिन्ताजनक रहेकोले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्नेछ।
पाकिस्तानी सेनाले जारी गरेको विज्ञप्तिमा तीन बालबालिका सहित पाँच जनाको मृत्यु पुष्टि गरिएको छ। स्कुल बसको भग्नावशेष र बालबालिकाका स्कुल ब्यागहरू घटनास्थलमा फेला परेका छन्।
प्रधानमन्त्री शहबाज शरिफले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले आक्रमणमा भारतको संलग्नता रहेको आरोप समेत लगाएका छन्। पाकिस्तानले भारतमाथि बलोच पृथकतावादी र अन्य भूमिगत समूहलाई समर्थन गर्ने गरेको आरोप लगाउँदै आएको छ।
हालसम्म कुनै पनि समूहले हमलाको जिम्मा लिएको छैन। बलोच लिबरेशन आर्मी (बीएलए), इस्लामिक स्टेटको स्थानीय च्याप्टर, र पाकिस्तानी तालिबान यस क्षेत्रका सक्रिय उग्रवादी समूह मानिन्छन्।
यो घटना भारत र पाकिस्तानबीच भएको पछिल्लो युद्धविराम सम्झौता पछि भएको पहिलो ठुलो आतङ्ककारी हमला हो। बीबीसी