
भारत र पाकिस्तानबीच हालै बढ्दो सैन्य तनावलाई रोक्दै युद्धविरामका लागि सहमति भएको छ।
भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ) सँगको सम्पर्कपछि दुवै देशले स्थल, समुद्र र हवाई क्षेत्रमा सबै प्रकारका सैन्य कारबाही रोक्ने सहमति भएको जानकारी दिए। उक्त युद्धविराम भारतीय समयअनुसार शनिबार साँझ ५ बजेदेखि लागु भएको छ।
‘पाकिस्तानी डीजीएमओ र भारतीय समकक्षीबीच आज अपराह्न टेलिफोन वार्ता भएको थियो,’ मिश्रीले भने, “दुवै पक्षबीच जमिन, आकाश र समुद्रमा सबै प्रकारका सैन्य गतिविधि रोक्ने सहमति भएको छ।’
साथै, युद्धविरामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि आदेश दिइसकिएको र मे १२ को मध्यान्ह १२ बजे दुवै देशका डीजीएमओहरूबीच पुनः वार्ता हुने पनि मिश्रीले जानकारी दिए।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले पनि युद्धविरामको पुष्टि गर्दै पाकिस्तानले कुनै प्रकारको सार्वभौमिकता वा क्षेत्रीय अखण्डतामा सम्झौता नगरी शान्ति स्थापनाका लागि निरन्तर प्रयास गरिरहेको बताए।
यसबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारत–पाकिस्तानबीच तटस्थ स्थलमा विस्तृत वार्ता सुरु गर्न पनि सहमति भएको जानकारी दिएका छन्। ‘गत ४८ घण्टामा अमेरिकी उपराष्ट्रपति र मैले भारत तथा पाकिस्तानका शीर्ष नेतासँग सम्पर्क गरी वार्ता प्रक्रिया अगाडि बढाउन भूमिका खेलेका छौं,’ रूबियोले भने, “हामी प्रधानमन्त्री मोदी र प्रधानमन्त्री सरिफको विवेकपूर्ण निर्णयको प्रशंसा गर्दछौं।’
भारत र पाकिस्तानबीचको तनाव गत मे २ मा भारतको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि चुलिएको थियो। उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो। त्यसको जवाफमा भारतले मे ७ मा 'अप्रेसन सिन्दूर' सञ्चालन गरेको थियो। पाकिस्तानले पनि त्यसको जवाफी कारबाही गरेको थियो, जसमा केही भारतीय सर्वसाधारण र सुरक्षाकर्मीको मृत्यु भएको थियो।हालको युद्धविराम सहमति दुवै देशबीच पुनः संवाद र स्थायीत्वतर्फको संकेतको रूपमा हेरिएको छ।
र यो पनि…
पाकिस्तानी उपप्रधानमन्त्री दार भन्छन्- अब भारतसँग व्यापक मुद्दामा वार्ता हुन्छ