
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।
थाइल्यान्डको तेरथाइ क्रिकेट मैदानमा शनिबार भएको खेलमा वर्षा र भिजेको मैदानका कारण खेल ५ ओभरमा झारिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाउँदै ४१ रन बनायो। बहराइनकी कप्तान दिपिका रंगासिकाले १३ बलमा आक्रामक ३४ रन बनाउँदै टोलीलाई चुनौतीपूर्ण योगफलसम्म पुर्याइन्। उनी श्रीलंकाबाट खेलिसकेकी अनुभवी खेलाडी हुन्।
४२ रनको लक्ष्य पछ्याउन उत्रिएको नेपालले ४.२ ओभरमै १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। नेपालको जितमा कविता कुँवरले सर्वाधिक १८ रन बनाइन् भने सम्झना खड्का १३ रन र कप्तान इन्दु बर्मा ७ रनमा अविजित रहिन्।
यसअघि शुक्रबार हङकङसँगको पहिलो खेल वर्षाका कारण टस नै हुन नसकी रद्द भएको थियो। दुवै टोलीले १-१ अंक बाँडेका थिए। अब नेपालले मंगलबार हङकङविरुद्ध प्रतिस्पर्धा गर्नेछ।