
इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङमा भेटिएका एक अमेरिकी मूलका इजरायली र एक रूसी मूलका इजरायली सहित छ जना बन्धकको शव पहिचान गरेको जनाएको छ ।
उनीहरूको अवशेष शनिबार ‘रफाह क्षेत्रको भूमिगत सुरुङबाट’ फेला परेको र तिनको औपचारिक रुपमा पहिचान गरिएको आइतबार इजरायली सेनाले जनाएको हो ।
गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले कब्जामा लिएका कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्श गोल्डबर्ग- पोलिन, अलेक्जेन्डर लोबानोभ, अल्मोग सारुसी र ओरी डानिनोको शव पहिचान गरिएको हो ।
गाटलाई दक्षिण इजरायली किब्बुट्ज समुदायको बिरीबाट लगिएको थियो भने बाँकी २३ देखि ३२ वर्ष उमेर समूहका पाँच जनालाई गाजाको सीमा नजिकैको एक सङ्गीत महोत्सवबाट अपहरण गरिएको थियो।
अक्टोबर ७ मा भएको आक्रमणका क्रममा बन्धक बनाइएका २५१ जनामध्ये ९७ जना गाजामा बन्धक बनाइएका थिए जसमध्ये करिब ४० जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।
सेनाका प्रवक्ता डेनियल हागारीले उनीहरूलाई आफूहरू त्यहाँ पुग्नुभन्दा केही समयअघि हमासका लडाकुहरूले निर्मम हत्या गरेको बताएका छन् ।
इजरायलको आधिकारिक तथ्याङ्क अनुसार हमासको आक्रमणमा परी एक हजार २०५ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।
इजरायलको आक्रमणमा गाजामा कम्तीमा ४० हजार ६९१ जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार कार्यालयले मृतकमध्ये अधिकांश महिला र बालबालिका रहेको जनाएको छ ।