काठमाडाैं, वैशाख २४ :

भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रमा हवाई हमला गर्दै सुरु गरेको ‘अपरेशन सिन्दूर’प्रति चीनले खेद व्यक्त गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गर्दै भारत–पाकिस्तानबीच बढ्दो तनावले क्षेत्रीय स्थायित्वमा असर पुर्‍याउने खतरा रहेको बताए।

‘भारतको आज बिहानको सैन्य कारबाही खेदजनक छ,’ प्रवक्ता निङले भने, ‘चीन यो परिस्थितिप्रति गम्भीर चिन्तित छ।’

उनले भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन, शान्त रहन र अवस्था थप जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गरे।

‘भारत र पाकिस्तान दुवै चीनका छिमेकी मुलुक हुन्, ‘ उनले भने, ‘ हामी दुवैलाई शान्ति र स्थायित्वको व्यापक हितका लागि सोच्न र कार्य गर्न आग्रह गर्छौं।’

चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दै आए पनि वर्तमान परिस्थितिमा शान्तिपूर्ण संवादमार्फत समाधान खोजिनुपर्नेमा जोड दिएको छ।

भारतीय सेनाले हालै पाकिस्तानको आतङ्ककारी संरचनामाथि कारबाही थालेको दाबी गरेपछि क्षेत्रीय स्तरमा कूटनीतिक सरगर्मी बढेको छ।