
पोखरा महानगरपालिकाले आन्दोलनरत शिक्षकलाई बुधबारसम्ममा विद्यालयको पठनपाठन नियमित गर्न आग्रह गरेको छ।
महानगरपालिका शिक्षा महाशाखाले सोमबार एक सूचना प्रकाशन गर्दै सामुदायिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय कर्मचारी तथा विद्यार्थीलाई नियमित पठनपाठनमा फर्कन अनुरोध गरेको हो।
नगर शिक्षा समितिको आइतबार बसेको बैठकले पठनपाठन अविलम्ब सुरु गराउने निर्णय गर्दै त्यसअनुसार आग्रह गर्ने निर्णय गरेको थियो।
महानगरले नयाँ शैक्षिक सत्र वैशाख ८ बाट सुरु गर्ने तयारी गरेको थियो। तर, सामुदायिक विद्यालयका शिक्षकले विभिन्न मागसहित आन्दोलन थालेपछि संस्थागत विद्यालयको पठनपाठन समेत रोकिएको थियो। यद्यपि, संस्थागत विद्यालयले वैशाख ११ देखि पढाइ सुरु गरिसकेका छन्।
पोखरामा हाल १९८ सामुदायिक र १७५ संस्थागत विद्यालय रहेका छन्। शिक्षा महाशाखाको आर्थिक वर्ष ०८१ को तथ्यांकअनुसार, ती विद्यालयहरूमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १ लाख ४४ हजार विद्यार्थी अध्ययनरत छन्।
महानगरले शिक्षामा देखिएको अवरोध हटाई नियमित शैक्षिक गतिविधि सञ्चालन गर्न सबै सरोकारवालालाई सहकार्यका लागि आह्वान गरेको छ।