
फाइल तस्बिर।
कश्मीरको विवादित क्षेत्रमा भारत र पाकिस्तानका सेनाबीच लगातार तेस्रो रात पनि गोली हानाहान भएको छ । भारतीय सेनाले आइतबार दिएको जानकारीअनुसार पाकिस्तानतर्फबाट साना हातहतियारबाट अनावश्यक गोलीबारी भएपछि भारतीय पक्षले पनि जवाफी कारबाही गरेको जनाएको छ ।
भारतले पाकिस्तानमाथि कश्मीरमा भएको पछिल्लो आतङ्कवादी आक्रमणमा सहयोग गरेको आरोप लगाउँदै आएको छ । पहलगामस्थित पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा २६ जना पुरुषको ज्यान गएपछि भारतले ठुलो खोजी अभियान थालेको छ । फरार आक्रमणकारीमध्ये दुई जना पाकिस्तानी नागरिक रहेको भारतीय प्रहरीको भनाइ छ ।
इस्लामाबादले भने आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै भारतको आरोपलाई ‘तुच्छ’ भनेको छ । साथै, कुनै पनि भारतीय कारबाहीको कडा जवाफ दिने चेतावनी दिएको छ ।
भारतले आक्रमणपछिको कडा प्रतिक्रिया स्वरूप पाकिस्तानसँगको पानी बाँडफाँट सन्धि स्थगित गरेको छ । साथै मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानी नागरिकहरूका लागि जारी भिसा रद्द गर्ने निर्णय गरेको छ ।
त्यसको जवाफमा पाकिस्तानले पनि भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई देश निकाला गरेको छ भने सिख तीर्थयात्रीहरूबाहेक अन्य भारतीय नागरिकहरूलाई भिसा नदिने निर्णय लिएको छ । पाकिस्तानले पनि आफ्नातर्फबाट सीमा क्रसिङ बन्द गरेको छ । संयुक्त राष्ट्रसंघले दुबै देशलाई संयमित रहन र मुद्दाको समाधान आपसी संवादमार्फत खोज्न आग्रह गरेको छ ।