
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले भाटभटेनी लुटपाटमा नेपाली कांग्रेसकै सह-महामन्त्रीको छोरा संलग्न रहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठकमा शुक्रबार दलीय आधारमा धारणा राख्ने क्रममा अध्यक्ष लिङ्देनले गत चैत १५ गते तीनकुनेमा भएको घटनाका क्रममा प्रदर्शनकारीबाट भन्दा पनि सरकारपक्षबाट दमन भएको आरोप लगाए । उनले तीनकुनेमा भएको घटनाको न्यायिक छानबिनका लागि आयोग गठनको माग पनि दोहोर्याए ।
‘यदि त्यो घटना सुनियोजित थियो भने कुनै पनि प्रदर्शनकारीबाट प्रहरीले किन हतियार पक्रन सकेन ? प्रदर्शनकारीबाट लट्ठीसम्म बरामद भएको देखिँदैन,’ अध्यक्ष लिङ्देनले सदनमा भने, ‘तर प्रहरीबाट ६५० भन्दा बढी राउन्ड अश्रुग्यास चलेको छ । अरु विभिन्न खालका फायरिङ भएका छन् ।’
उक्त प्रदर्शनसँग कुनै सम्बन्ध नै नरहेका र बाटो हिँडिरहेका व्यक्तिमाथि गोली प्रहार भएको लिङ्देनको भनाइ छ । प्रदर्शनका क्रममा भाटभटेनीमा भएको लुटपाटमा सत्तारुढ दलकै व्यक्तिहरु पक्राउ परेको र ती व्यक्तिलाई कारबाही नगरी छोडिएको आरोपसमेत उनले लगाए । गृहमन्त्री रमेश लेखकतर्फ इंगित गर्दै राप्रपाका अध्यक्ष लिङ्देनले भने, ‘भाटभटेनी लुटपाटमा तपाईंकै पार्टीका सहमहामन्त्रीको छोरा पक्राउ पर्नुभो, किन छाड्नु भो तुरुन्तै ?’
उनले तीनकुने घटना प्रकरणमा न्यायिक आयोग गठनको पुनः माग गरे ।
त्यस्तै, राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भनेर गलत भाष्य बनाइएको लिङ्देनको दाबी छ । ‘राजाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध होइन । राजसंस्था र लोकतन्त्र एकअर्काका विकल्प होइनन्,’ उनले भने, ‘विश्वमा कतिपय देशमा राजसंस्थासहितको उन्नत प्रजातन्त्र प्रयोगमा छ ।’
राजनीतिक दल र सरकारले लोकतन्त्रविरोधी काम गरिरहेको आरोप पनि लिङ्देनको छ । लोकतन्त्रको विरोधी र पक्षमा को छ भनेर व्यवहारले देखाउने उनको भनाइ छ । राजनीतिक दलहरुले निरंकुश व्यवहार गर्न नहुने उनले संसद्मा उल्लेख गरे ।
उनले कमजोर अर्थतन्त्र सुधार्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष लिङ्देनले शक्ति र पहुँचका आधारमा भन्दा पनि आवश्यकताका आधारमा बजेट ल्याइनुपर्नेमा जोड दिए । ‘सरकारमा रहेका नेताको गोजीबाट बजेट बन्ने र उनीहरुको निर्वाचन क्षेत्रलाई मात्र पैसा दिने स्थितिको अन्त्य होस् । बजेट पुस्तिका च्यात्नुपर्ने र विरोध गर्नुपर्ने अवस्थाको अन्त्य होस्,’ उनले भने ।