
भारतको जम्मु कश्मीरमा भ्रमणका क्रममा पुगेका बुटवलका सुदीप न्यौपानेले आतंकवादी हमलामा ज्यान गुमाउनुपर्यो । उनको शव नेपाल सरकारको पहलमा भारतीय सरकारको सहयोगमा आज (बिहीबार) नेपाल ल्याइएको हो ।
मंगलबार दिउँसो बन्दुकधारीले गोली प्रहार गरी ज्यान गुमाएका सुदीपको शव नयाँदिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै ल्याइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । उनका अनुसार बिहीबार बिहान करिब ७ सुदीपको शव नेपाल ल्याइएको हो ।
२७ वर्षीय सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्विट्जरल्यान्डसमेत भनिने वैशरण उपत्यकामा हिउँ खेल्ने र घुम्ने उद्देश्यले त्यसतर्फ गएका थिए । आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए ।
भाग्ने क्रममा रिमाकला सामान्य घाइते भएकी थिइन् । सुदीपको शवसँगै आमा र बहिनी ज्वाइँ पनि रुपन्देही आएका छन् । आतंकवादी घटनामा कम्तिमा २६ जना मारिएका छन्, तीमध्ये दुईजना विदेशी नागरिक थिए ।