काठमाडौं, वैशाख १० :

निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढाउने विषयमा संघीय संसद् अन्तर्गतको उपसमितिबाट सहमति जुटेको छ। अब निजामती कर्मचारीलाई अनिवार्य अवकाश पाउने उमेर सीमा क्रमशः बढ्दै ६० वर्ष पुग्ने पक्का भएको छ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजत्वमा गठित उपसमितिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको प्रतिवेदनमा अवकाश उमेर सीमा चरणबद्ध रूपमा बढाउने प्रस्तावलाई सहमति प्रदान गरिएको उल्लेख छ।

हाल निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद ५८ वर्ष छ। उपसमितिको प्रतिवेदनअनुसार, संघीय निजामती सेवा ऐन लागू भएको ६ महिनासम्म उमेर सीमा ५८ वर्ष ६ महिना हुनेछ। त्यसपछि अर्को एक वर्षका लागि ५९ वर्ष ६ महिना कायम रहनेछ। सो अवधिपछि, अन्ततः अवकाशको उमेर सीमा ६० वर्षमा पुर्‍याइने छ।

सरकारले प्रारम्भिक विधेयकमा अवकाश उमेर सीमा सिधै ६० वर्ष बनाउने प्रस्ताव गरे पनि उपसमितिले थप छलफलपछि चरणबद्ध कार्यान्वयनको मोडलमा सहमति जुटाएको हो। समितिबाट अब चाँडै निजामती सेवा ऐन पारित गरिने तयारी भइरहेको जनाइएको छ।