अछाम, भदौ १४ :
लगातारको वर्षाका कारण साँफे- मार्तडी सडक अवरुद्ध भएको छ ।
अछामको साँफेबगर नगरपालिका- १३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको हो ।
पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएको अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उहाँले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताउनुभयो । सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारी साधन रोकिएका छन् ।
इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदको कमान्डमा प्रहरीको टोली पहिरो स्थलमा खटिएको जनाइएको छ ।