काठमाडाैं, वैशाख ५ :

राप्रपा महामन्त्री धवल शमशेर राणालाई सरकारले रिहा गर्ने तयारी गरिएको छ। राणाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी उपचारका लागि रिहा गर्न लागिएको हो।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनपश्चात् राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री राणा लगायतका नेता तथा कार्यकर्ता पक्राउ परेका थिए।  राणाको परिवारले उपचारको प्रबन्ध मिलाउन निवेदन दिएपछि बोलाइएको बखत उपस्थित हुने सर्तमा रिहा गर्न लागिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

चैत १५ गते पक्राउ परेका उनीहरूमाथि अदालतले प्रारम्भिकरूपमा ५ दिनको म्याद दिई हिरासतमा राख्न अनुमति दिएको थियो। तीन पटक गरी २६ दिन म्याद थप भइसकेको छ ।

तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनाएको आरोपमा पक्राउ गरिएका राप्रपा नेताहरूमाथि राज्यविरुद्धको गतिविधिमा संलग्न भएको आरोप लागेको छ। तर राप्रपाले उक्त प्रदर्शनलाई शान्तिपूर्ण बताउँदै आफ्ना नेता-कार्यकर्तालाई राजनीतिक प्रतिशोध स्वरूप पक्राउ गरिएको दाबी गर्दै आएको छ।