
साउदी अरबका एक पूर्वराजदूतलाई ब्ल्याकमेल गर्ने प्रयास गरेको आरोपमा बङ्गलादेशकी मोडल मेघना आलमलाई बङ्गलादेश प्रहरीले पक्राउ गरेको छ।
तीस वर्षीया मोडल तथा ‘मिस अर्थ बङ्गलादेश’की पूर्व विजेता आलमले पूर्वकूटनीतिज्ञलाई हनी-ट्र्यापमार्फत फसाई ५० लाख अमेरिकी डलर असुल्न खोजेको प्रहरीको आरोप छ। प्रहरी प्रवक्ता मुहम्मद तालेबुर रहमानले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै अब आलमविरुद्ध जबरजस्ती वसूली र ब्ल्याकमेलको आरोप लागाइएको जानकारी दिए।
नाम नखुलाउने सर्तमा एक उच्च प्रहरी अधिकारीले समाचार संस्था एएफपीसँग कुरा गर्दै, मेघना र उनका सहयोगीहरूले सम्बन्ध बनाइ पैसा असुल्ने योजना बनाएको दाबी गरे। ‘साउदी अरबसँगको कूटनीतिक सम्बन्धमा असर नपरोस् भन्ने सरकारको चाहना छ,’ ती अधिकारीले बताए।
साउदी अरब बङ्गलादेशको सबैभन्दा ठूलो आप्रवासी श्रमिक गन्तव्य हो, जहाँ हाल २० लाखभन्दा बढी बङ्गलादेशी श्रमिक कार्यरत छन्। यस्ता संवेदनशील मामिलामा बङ्गलादेश सरकारले कूटनीतिक सम्बन्ध बिग्रिन नदिने प्रयास गरिरहेको बताइएको छ।
अदालतमा बिहीबार कानुनी सल्लाह बिना उपस्थित भएकी मेघनाले आफ्ना सबै आरोप अस्वीकार गरेकी छिन् र गिरफ्तारी खारेज गरिदिन अनुरोध गरेकी थिइन्।
स्थानिय पत्रिका डेली स्टार का अनुसार उक्त सम्बन्धको सुरुवात साउदी कूटनीतिज्ञबाट भएको थियो। उनले मेघनालाई सम्बन्ध सुरु गर्न प्रस्ताव राखेका थिए। मेघनाका बुबा बदरुल आलमले पनि छोरी र पूर्वराजदूतबीच सम्बन्ध रहेको पुष्टि गर्दै भने, ‘मेरी छोरीले उनको विवाह प्रस्ताव अस्वीकार गरिन्, किनकि ती व्यक्तिको पहिले नै श्रीमती र छोराछोरी छन्।’
ढाकास्थित साउदी दूतावासले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन।यस घटनापछि एम्नेस्टी इन्टरनेशनलले मेघनाको गिरफ्तारीप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जाल ‘एक्स’मार्फत लेखेको छ, ‘हामी बङ्गलादेशी अधिकारीहरूलाई मेघनाविरुद्ध अन्तर्राष्ट्रिय कानुनअनुसारको आपराधिक मुद्दा चलाउन वा उनलाई रिहा गर्न आग्रह गर्दछौं।’