वीरगन्ज, चैत ३० :

वीरगन्जमा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपपछि प्रशासनले कर्फ्यु लगाएको छ। प्रशासनले पूर्वतर्फ भेडियाही चौक (वडा १), पश्चिमतर्फ सिर्सिया पुल (वडा २५), उत्तरतर्फ गण्डक चौक (वडा १४) र दक्षिणतर्फ शंकराचार्य गेट (वडा १६) सम्मको क्षेत्रलाई कर्फ्यु आदेशको दायरामा ल्याएको छ।

कर्फ्यु आदेश जारी भएसँगै त्यहाँ नागरिकको आवागमन पूर्ण रूपमा रोकिएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै स्थिति सामान्य नहुञ्जेल कर्फ्यु यथावत् राखिने प्रशासनले जनाएको छ।

शनिबार दिउँसो हनुमान जयन्तीको शोभायात्राका क्रममा छप्कैया चोकमा दुई समुदायबीच विवाद बढ्दै झडपमा परिणत भएको थियो। वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त छ।

झडपमा पसलमा आगजनी भएको र केही मोटरसाइकल तोडफोडसमेत गरिएको छ। स्थानीय केही व्यक्तिसहित प्रहरी पनि घाइते भएका छन्।स्थिति नियन्त्रणमा लिनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

 


 

र यो पनि…

वीरगन्जमा दुई समुदायबीच झडप, स्थितिलाई नियन्त्रणमा प्रहरीद्वारा अश्रुग्यास प्रहार