
फाइल फोटो ।
गाजामा जारी युद्ध अन्त्यका सम्भावनाबारे छलफल गर्न हमासको एक उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार इजिप्टको राजधानी कायरो प्रस्थान गर्ने भएको छ। हमासका एक वरिष्ठ अधिकारीका अनुसार यो प्रतिनिधिमण्डलले इजिप्टका मध्यस्थकर्तासँग वार्ता गर्नेछ।
‘हामी आशा गर्छौं कि यस बैठकले युद्ध अन्त्य, आक्रमण रोक्ने र गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्ने दिशामा सकारात्मक प्रगति ल्याउनेछ,’ अधिकारीले नाम नखुलाउने सर्तमा जानकारी दिए।
प्रतिनिधिमण्डलको नेतृत्व हमासका प्रमुख वार्ताकार खालिल अल–हैयाले गर्ने जनाइएको छ।
हालसम्म हमासले कुनै नयाँ औपचारिक युद्धविराम प्रस्ताव प्राप्त नगरेको भए पनि इजरायली सञ्चारमाध्यमहरूले इजरायल र इजिप्टबीच प्रस्ताव आदानप्रदान भएको दाबी गरेका छन्। यसबारेमा हमासले औपचारिक पुष्टि गरेको छैन।
अधिकारीका अनुसार हमास र इजिप्टका मध्यस्थकर्ताबीच नियमित सम्पर्क र छलफल जारी रहेको छ। यद्यपि, उनले इजरायलले गाजामा सैन्य आक्रमण अझै पनि जारी राखेको आरोप पनि लगाउनुभयो।
गाजामा मानविय संकट चुलिँदै गएको भन्दै अन्तर्राष्ट्रिय समुदायले युद्धविरामका लागि दबाब दिँदै आएको छ। वार्ताबाट के निष्कर्ष निस्किन्छ भन्नेबारे अझै अनिश्चितता कायम छ।