नेपालगञ्ज, भदौ १३ :

प्रहरीले नेपालगञ्जबाट बरामद गरेको अवैध सुनचाँदी आज सार्वजनिक गरेको छ ।

करिब ३५ तोला सुन, १० किलो ६१३ ग्राम चाँदी, एउटा गाडीसहित चार जलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिका- ११ बिपि चोक आसपासमा अवैध सुनचाँदीको अवैध कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्ने क्रममा उक्त परिणामको अवैध सुनचाँदी सहित मङ्गलबार चार जनालाई पक्राउ गरिएको हो । 

वडा नं २ स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुनचाँदी रिफाइन कारखानाबाट केही सुनचाँदी बरामद भएको बताइएको छ ।

बरामद भएको सुनचाँदी र सवारी साधन सहित एक करोड पाँच लाख ३३ हजार चार सय ४७ मूल्य बराबर पुग्ने प्रहरीले जनाएको छ । 

बर्दियाको राजापुर नगरपालिका- ८ बस्ने ४० वर्षीय नेपाली थारूले चलाएको प्रदेश ०३०१०२४ च ६७६३ नं को कारमा सवार रहेका राजापुर नगरपालिका ४ बस्ने ४२ वर्षीय नीम प्रकाश सुनार, नेपालगञ्ज- १९ का २१ वर्षीय राहुल सुनार, बाँकेको राप्तीसोनारी- ४ का २४ वर्षीय ओमजङ्ग चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ । 

बरामद सुनचाँदी र गाडीलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाइएको छ ।