काभ्रे , भदौ १२ :

काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरमै खानेपानी उपलब्ध गराइएको छ ।

गाउँपालिकाको ‘एक- घर- एक धारा’ अभियान कार्यक्रम अन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ४ र ५ को परिवारका घरमै खानेपानी उपलब्ध गराएको छ । 

गाउँपालिकाको वडा नं ३ र ४ मा १ सय ७८ धारा निर्माण सम्पन्न भएको छ भने वडा नं ५ मा एक सय ४५ घरमा धारा जडान गरी खानेपानी उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिनुभयो । 

दुवै खानेपानी आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को संयोजन, च्यारिटी वाटरको सहयोग र गाउँपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको हो ।

गाउँपालिकाले  ‘दिगो र गुणस्तरयुक्त संरचना हाम्रो पहिचान, सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान’ नाराका साथ खानेपानी आयोजना सञ्चालन गरिरहेको छ । 

अध्यक्ष थिङले खानीखोलाका दुई हजार चार ४ सय परिवारमा स्वच्छ र सफा खानेपानीको व्यवस्था गर्ने क्रममा हालसम्म सात सय घरधुरीमा पुर्‍याइएको  बताउनुभयो ।