भदौ ११ :

पाँचथरको फिदिममा विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुला कक्ष स्थापना भएको छ ।

फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका तीन स्थानमा खुला कक्ष निर्माण गरी विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखेको हो ।

फिदिम बजारको गणतन्त्र चोक, पुरानो ट्राफिक कार्यालय र आहालगैरीमा विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखिएको नगरपालिकाले जनाएको छ । 

उक्त खुला कक्षमा आगलागी, बाढीपहिरोजस्ता विपत्तिका घटनाको प्रतिकार्य तथा उद्धारमा प्रयोग हुने विभिन्न प्रकारका सामग्री राखिएका छन् । 

फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले फिदिमका सार्वजनिकस्थलमा यस प्रकारका सामग्री राख्नाले आगलागी नियन्त्रण तथा विपद्मा उद्धारका सामग्री सहज रूपमा समयमै उपलब्ध हुने बताउनुभयो । 

खुला कक्षमा रहेका सामग्री प्रयोग पश्चात सोही स्थानमा ल्याई राख्ने प्रबन्ध गरिएको छ ।

खुला कक्षमा ‘फायर एक्सटिङग्युसर’, बाल्टी, बेल्चा, झम्पल, गैँती, खुर्पा, ‘फायरबल’ लगायत सामग्री राखिएका छन् ।