तनहुँ, चैत १४ :

ऋषिङ गाउँपालिका- १ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनबाट प्रभावित वनक्षेत्रमा जग्गा सट्टाभर्ना प्रक्रिया अघि बढाइएको छ । 

आयोजनाले भोगचलन गर्ने वनक्षेत्र बराबरको जग्गा खरिद गरी नेपाल सरकारलाई बुझाउन वनसँग जोडिएका व्यक्तिको जग्गा सट्टाभर्ना कार्य अघि बढाएको हो ।

सार्वजनिक सूचना जारी गरेपछि तनहुँ खण्डबाट दुई जनाले न्यून क्षेत्रफलमा आवेदन दिएको र चितवन खण्डबाट कुनै पनि आवेदन नपरेको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाले भोगचलन गरेको जग्गाको क्षतिपूर्तिवापत वनसँग जोडिएका व्यक्तिको जग्गा खरिद गरी सरकारलाई उपलब्ध गराउन लागिएको उनले बताए । 

उक्त आयोजनाबाट तनहुँ खण्डमा ६७ हेक्टर र चितवन खण्डमा २५ हेक्टर वनक्षेत्र प्रभावित हुने छ । प्रमुख भण्डारीले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला सहजीकरण समितिको बैठकले सट्टाभर्ना सम्बन्धित जग्गाको टुङ्गो लगाउने बताए ।

वन मन्त्रालयसँगको समस्याले विद्युत् प्रसारण लाइनको निर्माण कार्य रोकिन पुगेको र रुख नभएको क्षेत्रमा निर्वाध रुपमा काम भइरहेको प्रमुख भण्डारीले बताए । अर्थ मन्त्रालयबाट वन मन्त्रालय, वन विभाग हुँदै डिभिजन वन कार्यालयमा आर्थिक वर्षका लागि बजेट सुनिश्चित गरेका कारण प्रसारण लाइनको निर्माण कार्य अघि बढाउन सहज भएको छ ।