
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो यसपटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको दाबी गरेकी छन् ।
भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज (शुक्रबार) स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग उनले यस्तो दाबी गरेकी हुन् ।
‘यो भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा. एस जयशंकर र अन्य देशका समकक्षीहरुसँग भेटवार्ता भयो र राइसिना डायलगमा पनि सम्बोधन भयो,’ उनले भनिन्, ‘त्यसैगरी भारतबाट नेपालले खरिद गर्ने विद्युत् पनि निरन्तरताका लागि पहल गरेँ । त्यसैले नेपालको कूटनीतिक सम्बन्ध विस्तारमा यो भ्रमण फलदायी रह्यो ।’
उनले भ्रमणका क्रममा भारतका विदेशमन्त्रीका अतिरिक्त मोल्दोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, जर्जिया, युक्रेन र फिलिपिन्सका परराष्ट्रमन्त्रीहरु तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशकसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।
‘भारतमा रहँदा मैले हाल नेपालमा देखिएको विद्युत् अभावको समाधानका लागि पनि कूटनीतिक प्रयास गरेँ । यसमा खासगरी नेपाल र भारतबीच रहेको विद्यमान द्विपक्षीय सम्झौताअनुसारै इन्डियन इनर्जी एक्सचेन्जमार्फत नेपालमा आपूर्ति हुने विद्युत्को परिमाणमा वृद्धि गर्न अनुरोध गरेकी छु,’ उनले भनिन् ।
उनले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरता तथा हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न आग्रह गरेको जानकारी दिइन् ।
त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा युक्रेनमा यद्धबन्दीको रुपमा रहेका सात नेपालीको रिहाइका लागि आग्रह गरेको जानकारी पनि परराष्ट्रमन्त्री राणाले दिइन् ।