
फाइल तस्बिर।
पाल्पाको रामपुर नगरपालिकास्थित सहिद बहुमुखी क्याम्पसमा मंगलबार राति मतगणनामा उत्पन्न विवादका कारण तनावपूर्ण अवस्था सिर्जना भएको छ। निर्वाचन अधिकृतको हस्ताक्षरमा मतदान सम्पन्न भए पनि मतगणना भइरहेका बेला विवादका कारण मतगणना स्थगित गरिएको छ।
सहिद बहुमुखी क्याम्पसमा ५७१ मत खसिसकेको अवस्थामा केही मत गणना गर्न बाँकी रहेको थियो। यता, गणनास्थलमा भएको विवादले स्थिति असहज बनाउँदा नेविसंघका प्रतिनिधिहरू गणनास्थलबाट उठेर हिँडेका थिए। यसको परिणामस्वरूप क्याम्पस परिसरमा तनाव बढ्न गयो र वातावरण अशान्त बन्यो।
पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार, शान्ति कायम राख्नका लागि प्रहरीले एक घण्टासम्म प्रयास गरे पनि स्थिति नियन्त्रणबाहिर जान थालेपछि तीन राउन्ड हवाई फायर गरिएको थियो। यसबाट भीड तितरबितर पार्न सफल भएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक नरेन्द्र चन्दले भने, ‘क्याम्पस परिसरमा असहज परिस्थिति सिर्जना भएको थियो। त्यसकारण बल प्रयोग गर्नु परेको हो।’ क्याम्पस प्रशासनले भने सर्वपक्षीय बैठकको प्रयास जारी राख्दै मतगणनाको वातावरण निर्माण गर्न कोशिस गरेको जनाएको छ।
क्याम्पसमा यसपटक नेविसंघ र अखिल गठबन्धन बीच प्रतिस्पर्धा भइरहेको थियो।
यसैबीच, नेविसंघका प्रतिनिधिहरूले भने प्रहरी प्रशासनबाट गोली चलाइएको विषयमा आपत्ति जनाएका छन्। उनीहरूले भने, ‘मतगणना सुरु भएदेखि नै मत सदर र बदरको विषयमा छलफल भइरहेको थियो, तर यसै बीचमा प्रहरी प्रशासनले गोली चलाउनु गलत हो।’
यस घटनाले क्याम्पसका विद्यार्थीहरू र राजनीतिक दलका प्रतिनिधिहरू बीच तनावको माहौल सिर्जना हुँदा मतगणनाको प्रक्रिया रोकिन पुगेको हो।