नयाँदिल्ली, चैत ६ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन् ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँदिल्लीमा आज (बुधबार) आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका उनीहरुबीच भेटवार्ता भएको हो । ती भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयहरुमा कुराकानी भएको थियो ।

भेटका अवसरमा मन्त्री राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्‌को सदस्यलगायत अन्यमा पनि उम्मेदवारी दिएकाले त्यसमा सहयोग र समर्थनका लागि जर्जियासँग आग्रह गरिन् ।

साथै मन्त्री राणाले कृषि, जलविद्युत्, पूर्वाधार निर्माण, पर्यटनलगायत क्षेत्रमा नेपाल र जर्जियाबीच संयुक्त लगानी तथा साझेदारी गर्न सकिने सम्भावनाका विषयमा पनि कुराकानी गरेकी थिइन् । साथै नेपालले पछिल्लो समयमा जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनीय समस्याहरुको सामना गरिरहेको जानकारी दिँदै नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउँदै आएका आवाजमा जर्जियाको पनि सहयोग अपेक्षित रहेको मन्त्री डा. राणाले बताएकी थिइन् ।

त्यसैगरी परराष्ट्रमन्त्री राणाले फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग नेपाल र फिलिपिन्स जलवायु परिवर्तनका कारण उत्तिकै समस्यामा परेकाले  यसको असर कम गर्न आगामी दिनमा मिलेर काम गर्न सकिने बताएको उनको सचिवालयले जनाएको छ । राणाको सचिवालयका अनुसार फिलिपिन्स र नेपालका बीचको आपसी सम्बन्धका साथै आर्थिक साझेदारी र सामूहिक सहकार्यका विषयमा सो भेटका अवसरमा कुराकानी भएको थियो ।