नयाँदिल्ली, चैत ५ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँदिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहेका एन्द्रीसँग देउवाले मंगलबार भेटवार्ता गरेकी हुन् । भेटका क्रममा नेपाल-युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्रमन्त्री देउवाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपालीको रिहाका लागि आग्रह गरेकी थिइन् ।

नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नरहे पनि मानव तस्करहरुमार्फत नेपालीहरुलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको स्पष्ट गर्दै देउवाले रुसी सेनामा कार्यरत रहेका ७ नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरुको रिहाइको माग गरेकी हुन् ।

उनीहरुलाई नेपालको दुर्गम क्षेत्रबाट जबरजस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको जानकारी दिँदै उनले ती सात नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गरिन् ।

भेटका क्रममा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई रिहा गरिने प्रतिबद्धता जनाएका थिए । भेटका क्रममा देउवाले सन् २०२७ देखि २०२९ का लागि नेपालले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्‌को सदस्यलगायतमा उम्मेदवारी दिएकाले त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रहसमेत गरिन् ।

भेटका क्रममा दुई देशकाबीचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट वाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।