काठमाडौं, चैत ४ :

प्रतिनिधिसभाको सोमबारको बैठकमा यौन व्यवसाय खुला गर्ने प्रस्तावको सांसदहरुले विरोध गरेका छन्। विपक्षी दलका सांसदहरूले यस्तो प्रस्तावको आलोचना गर्दै यसलाई अस्वीकार्य र आपत्तिजनक भएको बताएका छन् ।

माओवादी केन्द्रकी सांसद दुर्गा राईले यौन व्यवसायलाई कानुनी मान्यता दिने कुरा संसदमा उठाउनु आपत्तिजनक भएको बताइन्। उनले भनिन्, ‘हिजो सत्तापक्षका माननीयज्युले यौन व्यवसायलाई कानुन बनाएर मान्यता दिएर पर्यटकलाई आर्कषक गरेर अर्थोपाजन गरौं भन्ने कुरा यस सम्मानित सदनमा उठाउनु आपत्तिजनक छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले यौन व्यवसाय प्रस्तावको विरोध गर्दै पर्यटक धेरै भित्र्याउने नाममा सरकारले वेश्यालय सञ्चालन गर्न अनुमति दिन लागेको हो? भनी प्रश्न गरेका छन्।

उनले नेपाललाई "देवभूमि" भएको भन्दै यस्ता व्यवसायहरूलाई कानुनी मान्यता दिनु देशको संस्कृतिका लागि हानिकारक हुने चेतावनी दिएका छन्।

सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आइतबारको संसद् बैठकमा देशको आर्थिक विकास र रोजगारी सिर्जनाका लागि यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने  बताएका थिए।

उनले यौन पर्यटनको माध्यमबाट धेरै विदेशी पर्यटक नेपाल ल्याउन सकिने विचार प्रस्तुत गरेका थिए। साथै उनले धार्मिक पर्यटकभन्दा यौन पर्यटक नेपालका लागि फाइदाजनक हुने समेत बताएका थिए।