काठमाडौं, चैत १ :

प्रधानमन्त्री केपी ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त-दुरुस्त बनाउन निर्देशन दिएका छन् ।

सगरमाथा संवादका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सञ्चालनमा आएको सचिवालयमा आज (शुक्रबार) निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त-दुरुस्त भएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष दिन निर्देशन दिएका हुन् ।

संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सचिवालय गठन गरिएको छ ।

सरकारले संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखसहितलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरेको छ ।

सचिवालयका सदस्य-सचिव महेश्वर ढकालले कार्यक्रमको हालसम्मको तयारीबारे छिटै पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गर्ने जानकारी दिए ।

यही माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष-२०२५ का अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथा संवाद कार्यक्रम काठमाडौंमा गर्ने घोषणा गरेका थिए । सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्व संवाद आयोजना गर्न लागेको हो ।