काठमाडाैं, फागुन ३० :

नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य चयन भएका छन्।

यही फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार समितिमा पूर्वगभर्नर भट्टराई र अर्थविद् पौडेललाई चयन गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

समितिमा एकजना पूर्वगभर्नर र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका एकजना विज्ञ रहने प्रावधान छ। समितिले गभर्नरका लागि तीन उपयुक्त उम्मेदवारहरूको नाम मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ, जसबाट एक जनालाई नयाँ गभर्नरको रूपमा नियुक्त गरिनेछ।

नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल यही चैत २४ गते समाप्त हुँदैछ।