काठमाडौं, फागुन २९ :

निर्वाचन अगावै देशभरका ८४ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्व निर्विरोध चयन भएको छ। 

मंगलबार उम्मेदवारी दर्ता गर्दा विभिन्न क्याम्पसहरूमा एकै पदमा एक मात्र उम्मेदवारको नाम पेस भएपछि उनीहरू निर्विरोध निर्वाचित भए। केही क्याम्पसहरूमा भने विद्यार्थी संगठनहरूले आपसी सहमति र समझदारीका आधारमा सर्वसम्मत नेतृत्व चयन गरेका छन्।

नेपाल विद्यार्थी संघले ३३ वटा क्याम्पसको अध्यक्षपद जित्दा अनेरास्ववियुले ३० क्याम्पसमा र बाँकी २१ क्याम्पसमा अखिल क्रान्तिकारीले अध्यक्ष पद जितेको छ।

काठमाडौं उपत्यकाका २२ क्याम्पसमध्ये ६ क्याम्पसमा उम्मेदवारी दर्ताको प्रक्रिया अवरुद्ध भएको छ। नेपाल ल, शंकरदेव, पद्यमकन्या, सरस्वती, पब्लिक युथ र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन।

नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी जस्ता विद्यार्थी संगठनहरूले सामुदायिक र निजी क्याम्पसमा ३ सयभन्दा बढी क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको जनाएका छन्। 

त्रिवि अन्तर्गतका आंगिक, सामुदायिक र निजी क्याम्पसहरूमा मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम सम्पन्न भएको थियो। मनोनयन भएका क्याम्पसहरूमा आगामी चैत्र ५ गते मतदान हुने कार्यक्रम तय गरिएको छ।