
नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रको उत्पादनमुलक एवं सेवामूलक प्रतिनिधिमूलक संस्थाका रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवर्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । परिसंघले उद्योग, राजस्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समिति/परिषद्/फोरम गठन गरी त्यस क्षेत्रका लागि विभिन्न गतिविधि एवं नीतिगत सुझाव दिँदै आउनुका साथै सरोकारवाला अन्य संघ-संस्थासँग सहकार्य, समन्वय गर्दै अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।
यसै सन्दर्भमा परिसंघले अन्तर्राष्ट्रिय स्तरको दोस्रो वमन लिडरसिप समिट २०२५ यही चैत ३ गते काठमाडौंमा आयोजना गर्न भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलन आयोजनाका लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ ।
सम्मेलनको समुद्घाटन प्रधानमन्त्री केपी ओलीबाट हुनेछ । सम्मेलनमा प्रविधि र इनोभेसन, वमन इन सस्टेनेबल एग्रिकल्चर, इन्भेस्टिङ इन वुमन, बि-बेन्ड बाउन्ड्रिज विषयमा सत्रगत रुपमा छलफल हुनेछ ।
परिसंघ सचिवालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरुले लिनुपर्ने नीतिगत विषयमा गहन रुपमा छलफल हुने बताए ।
यो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरुलाई प्रेरित गर्नेछ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायत क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिलाहरुसहित करिब पाँच सयजनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले बताइन् ।
परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलाहरुलाई अगाडि बढाउन सहयोग पुग्ने बताए । टाइटल स्पोन्सर नबिल बैंकका उपमहाप्रबन्धक आदर्श बजगाईंले महिलाहरुलाई अगाडि बढाउन बैंकले सहयोग गर्दै आइरहेको र सोहीअनुरुप यस सम्मेलनमा पनि बैंक आबद्ध भएको बताए । सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरुको प्रदर्शनीसमेत गरिनेछ ।
सम्मेलनको टाइटल स्पोन्सरमा नबिल बैंक रहेको छ भने एसियाली विकास बैंक (एडीबी) पावर्ड बाई रहेको छ । सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने अन्य संस्थाहरुमा नेपाल पर्यटन बोर्ड, एनसेल, एमएडब्ल्यू वृद्धि मोटर्स, डाबर नेपाल, युनिलिभर, बोटलर्स नेपाल, कृषि विकास बैंक, चौधरी फाउन्डेसन, वर्ल्डलिंक कम्युनिकेसन, भ्यास मिडिया, इभेन्ट म्याक्स, सोल्टी होटेल, इको एड, इन्क्युलिसिभ फ्युचर फाउन्डेसन छन् ।