
मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन् ।
घरपझोङ- २ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् । विगतका वर्षहरूमा भन्दा यसवर्ष केही हप्ता ढिलो गरी शीतोष्ण फूलहरू फुल्न थालेको हुन् ।
मुख्य रुपमा मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बीउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ । जिल्लामा स्याउखेतीको विकास समेत यही केन्द्रले सुरुआत गरेको थियो ।
मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न जातजातका फलफूलको बीउ तथा बिरुवा उत्पादनका साथै फलफूल उत्पादनमा समेत जोड दिइरहेको छ । मुस्ताङका कृषकहरुको आर्थिक विकासमा टेवा पुर्याउन र फलफूल तथा तरकारीखेतीको विकास गरी किसानको जीवनस्तर सुधार गर्न केन्द्रले जोड दिँदै आइरहेको छ ।
वसन्त ऋतुको आगमनको सुरुआतसँगै शीतोष्ण फलफूलका बोट झपक्कै फूल फुल्न थालेका हुन् । केन्द्रले उत्पादन गर्ने हाईचिलिङ जात अर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने कागजी बदाम, आरु, आरुबखडा र खुर्पानीलगायतका फलफूल बोटमा विस्तारै फूल फुलेर मुस्कुराउन थालेका छन् ।
यसरी बढी मात्रामा अत्यधिक चिस्यान चाहिने फलफूलका बोटमा फूल फुलेर धपक्कै हुँदा केन्द्रमा पुगेर अवलोकन गर्ने पर्यटक मोहित हुने गरेका छन् । तर, यहाँका स्याउ बोटहरुमा चैत्र महिनाको अन्तिम वा वैशाख महिनामा मात्रै फूल फुल्ने क्रम सुरु हुने केन्द्रले जनाएको छ ।
जिल्लाको बागवानी विकास केन्द्र र अन्य किसानले उत्पादन गर्ने यसप्रकारको अधिकांश जातका फूल फुल्ने चरणमा रहेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । केन्द्रमा उत्पादन हुने अधिकांश जातहरु हाईचिलिङ अर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने फलफूलहरु रहेको उनले भनाइ छ ।
उनले यसप्रकारका हाईचिलिङ जातका फलफूल बोटलाई आठ सयदेखि एक हजार घण्टासम्म चिस्यानको आवश्यक पर्ने बताए ।