काठमाडौं, फागुन २६ :

लाजिम्पाटको र्‍याडिसन होटेलमा पनि सेवाशुल्क पुनः प्राप्तिको आन्दोलन सुरु भएको छ । अखिल नेपाल होटेल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघको नेतृत्वमा आइतबारदेखि मजदुर हक तथा अधिकारका लागि जागरण अभियान सुरु गरेको संगठनका उपमहासचिव सुदर्शन तिमल्सिनाले बताएका छन् ।

सन् २००६ देखि होटेल तथा पर्यटन क्षेत्रका मजदुरहरुले पाउँदै आएको सेवाशुल्क वि.सं. २०७९ माघ ११ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेदेखि संगठनले पुनः प्राप्तिका लागि निरन्तर संघर्ष गर्दै आइरहेको संगठनका इन्चार्ज माधव पाण्डेले बताए ।

जाग्दै होटेलका मजदुर, भन्छन्- सेवाशुल्क नपाए संघर्ष चर्किन्छ

पछिल्लो समय संगठनको नेतृत्वमा काठमाडौं उपत्यकाका विभिन्न होटेल तथा रेस्टुरेन्टहरुमा जागरण अभियान चलाइरहँदा होटेल र्‍याडिसनमा पनि मजदुरहरुले सो संघर्ष तथा जागरण अभियान सुरु गरेका छन् । र्‍याडिसनको उक्त कार्यक्रमलाई केन्द्रीय अध्यक्ष कुमार पन्तले चैत १ गतेबाट माइतीघर मण्डलमा हुने धर्ना कार्यक्रममा सबै मजदुरहरुलाई सहभागी हुन आह्वान गरेका छन् ।

पन्तले आन्दोलन सरकार वा होटेल सञ्चालकहरुविरुद्ध नभई मजदुरहरुको गुमेको अधिकार पुन:स्थापित गर्न भएको प्रस्ट्याउँदै भने, ‘यो वर्ष श्रमिकहरुले अधिकार प्राप्तिका लागि संघर्षको वर्ष हो । किनभने श्रम ऐन संशोधन हुँदै छ । त्यसमा हाम्रो दबाब पुग्न जरुरी छ ।’

संगठनका केन्द्रीय सचिव अमृता सापकोटाले अदालतले खारेज गरे पनि विधायिकाबाट कानुन बनाएर गुमेको अधिकार पुनः प्राप्ति गर्न सकिने जनाउँदै, त्यसका लागि मजदुरहरुले दबाब दिन जरुरी रहेको धारणा राखिन् । संगठनका केन्द्रीय कोषाध्यक्ष तथा र्‍याडिसन होटेल एकाइ समिति अध्यक्ष राम पन्तले आफूहरु कर्यारत होटेल र्‍याडिसनमा सेवाशुल्क खारेजीपछि मजदुरहरु थप पीडामा रहेकोले सबैलाई संघर्षमा उत्रन निर्देशन दिए ।

संगठनका केन्द्रीय सदस्य तथा र्‍याडिसन एकाइ सचिव रामहरि भण्डारीले सेवाशुल्क खारेजीपछि आफूहरुको दैनिक जीवन गुजारा गर्न पनि कठिन भएकाले जसरी पनि पुनः प्राप्ति गर्नुपर्ने बताए ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट नेपाल एकीकृत होटेल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनका र्‍याडिसन एकाइ समिति अध्यक्ष विशनसिंह धामीले सो जागरण अभियानमा ऐक्यबद्धता जाहेर गर्दै आफूहरु पनि संघर्षमा उत्रने बताए । र्‍याडिसन होटेलमा कार्यरत विन्दा महत, राजु पुजारी, राजकुमार सापकोटा, कविराज थापा, गोविन्द भट्टलगायतले पछिल्लो समयमा महँगी बढ्दै जाने, तर खाईपाई आएको सेवासुविधा पनि अदालतको गलत फैसलाका कारण कटौती हुने विषयले आफूहरुको दैनिकी निकै नै कष्टकर भएकोले पुनः संघर्षमा जानुको विकल्प नरहेको बताए ।

कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष मिलन मल्ल, सचिव रामकुमार वाग्ले, केन्द्रीय सदस्यहरु सुनीता थापा, शैलेन्द्र मण्डललगायतको उपस्थिति थियो ।