
गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र फर्काउने भ्रमबाट मुक्त रहन चेतावनी दिएका छन्।
उनले जनताले गणतन्त्रका लागि गरेको आन्दोलन र क्रान्तिमा राजतन्त्रको शासनलाई खारेज गरेको कुरा पुनः सम्झाउँदै पूर्वराजालाई राजतन्त्र फर्कने आशा नराख्न पनि आग्रह गरे।
सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बिहान पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लेखकले राष्ट्रिय राजनीतिमा पछिल्लो समय केही व्यक्तिहरूले राजतन्त्र पुर्नस्थापना हुने भ्रम फैलाइरहेको बताए ।
‘गणतन्त्रको विकल्प राजतन्त्र होइन,उनले भने, ‘त्यसैले भ्रम फैलाउने मानिसहरूको पछि लाग्नु बेकार छ।’
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका कमजोरीको रूपमा राजतन्त्रको पुनःस्थापना गर्ने आशालाई नलिन चेतावनी दिँदै लोकतन्त्रको यस्तो संयमित र उदार प्रणालीले नै सबैलाई स्वतन्त्रता प्रदान गरेको बताए ।