
फाइल तस्बिर।
नेपाली कांग्रेसका संस्थापक सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।विसं १९८१ पुस ८ गते जन्मिएका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । उनी २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि दुई पटक प्रधानमन्त्री भएका थिए । विसं २०१५ मा भट्टराई संसद्को सभामुख समेत भएका थिए ।
सन्तनेता भट्टराई अडान भएको र आदर्शमा नचुक्ने नेताका रुपमा चिनिन्छन् । पञ्चायतकालमा उनी सुन्दरीजल बन्दीगृहमा लामो समय बिपी कोइराला र गणेशमान सिंहका साथमा बसेका थिए ।
भट्टराईको १४औं स्मृति दिवसका अवसरमा ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज बेलुकी ६ बजे पशुपतिनाथ मन्दिरमा आरती कार्यक्रम आयोजना गर्न लागेको केन्द्रका अध्यक्ष लोकेश ढकालले जानकारी दिए ।
यस अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले पनि देशभर विभिन्न कार्यक्रम आयोजना गरी उनको स्मृति दिवस मनाउँदैछन् । विसं २०८० पुस ८ देखि २०८१ पुससम्म भट्टराईको जन्म शताब्दी वर्ष मनाइएको थियो । सोही अवसरमा केन्द्र स्थापना गरिएको नेता ढकालले बताए ।