शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

माथिल्लो राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २१ फागुन, २०८१ मा प्रकाशित
माथिल्लो राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा
म्याग्दी, फागुन २१ :

म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।

तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत्‌गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो । सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए ।

‘हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ,’ उनले भने, ‘विद्युत्‌गृहमा कन्ट्रोल रुम र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ ।’

तुदीँ पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युत्‌भित्र टर्वाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको जनाए ।

रघुगङ्गा ७, चिमखोलामा बाँध र रघुगङ्गा ४, दग्नामको फेदीमा विद्युत्‌गृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ । ‘आउटलेटबाट विद्युत्‌गृहसम्म ६८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब एक सय मिटर मात्र बाँकी छ । उत्पादन भएको विद्युत् प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ,’ उनले भने ।

तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७ दशमलव पाँच मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए । उनका अनुसार रघुगङ्गा ८ को बन्दीमा बाँध, रघुगङ्गा ७ को चिमखोलामा विद्युत्गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङको सबै काम सकिएको छ ।

मङ्गले राहुघाटको विद्युत्‌गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्नेगरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ । दुईवटै आयोजनाको अनुमानित लागत १३ अर्ब रुपैयाँ रहेको तुदीँ पावरका इन्जिनियर  भट्टराईले उल्लेख गरे ।

अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा ३, अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रालिले २१ दशमलव तीन मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।

राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ । -रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार