नवलपरासी, फागुन २० :

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते (हिउँदे) धान लगाउन व्यस्त छन्  । 

दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ ।  

मकै भन्दा धान राम्रो उत्पादन हुने र दुईबाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने, हुँदा किसान यसतर्फ आकर्षित भएका हुन् ।

विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेतीको ब्लक क्षेत्र छुट्ट्याएर खेती लगाइएको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख कुलप्रसाद तिवारीले बताए ।  

जिल्लाको कावासोती नगरपालिका- ८ देखि १७, गैँडाकोट नगरपालिका- १०, ११, १२ र १३, देवचुली नगरपालिका- १७, मध्यविन्दु नगरपालिका- २ र ३,  विनयी त्रिवेणी गाउँपालिका- १ र ५, बुलिङटार गाउँपालिका- ३बौदीकाली गाउँपालिका- ४ मा हिउँदे धान खेती हुने गरेको छ ।
     
कृषि ज्ञान केन्द्रले चैते धान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । पकेट क्षेत्र लागूभएका स्थानमा किसानको लागत सहभागितामा सिँचाइ, बीउ, यान्त्रिकिकरण लगायतमा ७५ प्रतिशत अनुदान दिने गरेको प्रमुख तिवारीले जानकारी दिए । 
 
चैते धान प्रवर्द्धनका लागि चालु आवमा कृषि ज्ञान केन्द्रमार्फत रु एक करोड १० लाख बजेट विनियोजन गरी कार्यक्रम गरिएको छ । बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धानतर्फ किसानको आकर्षण बढेको प्रमुख तिवारीले बताए ।