
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको अहंकार र विदेशी षड्यन्त्रका कारण माओवादी कमजोर भएको बताएका छन्।
जनजागरण अभियान अन्तर्गत शनिबार सिरहामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीले २०६४ को विजयपछि अहंकार पाल्न थालेको स्वीकारे।‘हामीमा अहंकार पलायो, साथै देशी-विदेशी षड्यन्त्र भयो,’ दाहालले भने, ‘तर अब हामी गल्ती सच्याएर अगाडि बढिरहेका छौं।’
उनका अनुसार माओवादी कमजोर हुँदा सरकारमा रहेका दलहरूले विगतमा हासिल उपलब्धिहरू नै खतरामा पार्ने प्रयास गरिरहेका छन्। तर, माओवादी फेरि २०६४ को जस्तै शक्तिशाली बन्ने उनको दाबी छ।
मधेश र मधेसी जनतासँग विगतमा निरंकुश राज्यसत्ताले दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरेको उल्लेख गर्दै उनले अहिले पनि विभेद कायम रहेको बताए। उनले भने, ‘देशका सबै नागरिकलाई समान व्यवहार नगरेसम्म समृद्धि सम्भव छैन।’
उनले सरकारमा रहेका दलहरूले मधेशलाई सधैं उपेक्षा गरेको र मधेशवादी दलहरू समेत मधेशको भावनालाई केवल प्रयोग गरिरहेको आरोप लगाए। मधेशको वास्तविक मुक्तिदाता माओवादी नै भएको उनले दाबी गरे।
अध्यक्ष दाहालले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । उनले अभियानका माध्यमबाट हुलाकी मार्ग आसपासका जनाताको आर्थिक उन्नतीका लागि पहल लिन सहयोग अपेक्षा गरे ।
लामो समयदेखि अघि बढाउन नसकिएको हुलाकी मार्गको थप विकासका लागि आफू २०७३ सालमा प्रधानमन्त्री हुँदा पहल लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुरू गरेपछि योजना अघि बढेको स्मरण गरे ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा औरही–४ इँटाटारमा आज आयोजित कार्यक्रममा माओवादी पार्टीमा प्रवेश गर्नेहरूलाई अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले स्वागत गरेका थिए ।