शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
गण्डकी प्रदेश अर्थतन्त्र कृषि

खेतीमा आधुनिक यन्त्र प्रयोग : किसानलाई सुविस्ता, उत्पादन बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १८ फागुन, २०८१ मा प्रकाशित
खेतीमा आधुनिक यन्त्र प्रयोग : किसानलाई सुविस्ता, उत्पादन बढ्यो
नवलपरासी, फागुन १८ :

नवलपरासीको मध्यविन्दु नगरपालिका २ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नुपर्थ्यो । तर, अहिले एक बिघा क्षेत्रफलको आलु उनी एक्लैले एकै दिनमा सकिसक्छन् ।

लामो समय अर्म-पर्म गरेर आलु खेती गरेका मायारामले गत वर्षदेखि घरमै पावर टिलर (हाते ट्याक्टर) किनेर खेती गर्दै आएका छन् । सामूहिक रूपमा आलु खेती गर्ने भएको हुँदा गत वर्ष कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा उनले पावर टिलर किनेको बताए ।

‘स्वदेशमै कृषि गर्ने भनेर विदेशबाट फर्किएको थिएँ । धेरै मानिस खोजेर काम गर्नु पर्दा निकै समस्या भएको थियो । तर, अहिले पावर टिलरको सहायताले आलु रोप्नेदेखि निकाल्दासम्म सजिलो भएको छ,’ उनले भने, ‘साता दिनसम्म लाग्ने गरेको काम एक-दुई दिनमै सकिन्छ ।’

नन्दपुर बहुउद्देश्यीय कृषक समूह मध्यविन्दु २ को अध्यक्षसमेत रहेका मायारामले प्रविधिको सहायताले नै १५ बिघा जमिनमा सामूहिक आलु खेती गरिएको बताए । प्रविधिको सहयोगले गर्दा थोरै जनशक्तिबाट धेरै काम गर्न सकिने भएकाले आर्थिक बचतसमेत भएको किसान मायारामको भनाइ छ ।

‘पहिले हामी आफैँ आलु लगाउने ड्याम बनाउने, गोडमेल गर्ने, आलु निकाल्ने गर्दथ्यौँ । धेरै मान्छे र समय लाग्दथ्यो,’ उनले भने, ‘अहिले हाते ट्याक्टरको सहायताले सबै काम गर्दछौँ सहज भएको छ ।’ कृषि प्रविधिले खेती गर्न सहज भएपछि नन्दपुर बहुउद्देश्यीय कृषक समूहले आलु खेतीको क्षेत्रफल पनि विस्तार गरेको छ । सुरुमा दुई बिघामा गरिएको आलु खेती अहिले १५ बिघा पुर्‍याइएको छ भने आगामी वर्ष २० बिघामा गर्ने योजना रहेको मायारामले जानकारी दिए ।

मध्यविन्दु २ कै रमेश थनेत थारु पनि पछिल्लो समय प्रविधिका माध्यमबाट खेती गर्दै आएका छन् । लामो समयसम्म कुटो कोदालोको प्रयोग गर्दै आएका उनी प्रविधिको माध्यमबाट खेती गर्न सहज भएको बताउँछन् । सबै काम श्रमबाट मात्र गर्दा समय बढी लाग्ने र मिहिनेत धेरै लाग्ने गरे पनि प्रविधिको सहयोगमा कम समयमै धेरै खेती गर्न सकिने रमेश बताउँछन् ।

‘धान, तोरी, गहुँ खेतीमा कृषि यन्त्रको प्रयोग गर्ने गरिएको भए पनि आलु खेतीमा सबै काम मान्छेले नै गर्ने गरेका थियौँ,’ उनले भने, ‘अहिले आलु उत्पादन गर्न धेरै सहज भएको छ, थोरै मान्छेले धेरै खेती गर्न सकेका छौँ ।’ मायाराम र रमेशजस्तै पछिल्लो समय जिल्लामा धेरै किसानले कृषि यन्त्र प्रयोग गरेर आलु खेती गर्दै आएका छन् । अन्न बालीमा मात्रै कृषि यन्त्रको प्रयोग हुँदै आएकोमा केही वर्षदेखि तरकारी खेतीमा पनि कृषियन्त्रको प्रयोग बढेको हो ।

पछिल्लो समय पावर ट्रेलर, ट्याक्टर, मिनी ट्रेलरको सहायताले तरकारी खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख कुलप्रसाद तिवारीले बताए । कृषिमा आधुनिक प्रविधिका औजार भित्रिएसँगै धेरै किसानले सहजरूपमा कृषि उत्पादन गर्ने गरेको तिवारीको भनाइ छ । परम्परागत शैलीमा खेतीपाती गर्ने किसान पछिल्लो समय प्रविधितर्फ आकर्षित भएको उनले बताए ।

‘जिल्लामा पछिल्लो समय तरकारी खेतीका लागि कृषि यन्त्रको प्रयोग बढेको छ । धेरैजसो किसानले कुटो कोदालोको सट्टा हाते ट्याक्टरको प्रयोग गर्दै आएका छन्,’ उनले भने, ‘मानवीय श्रमको भरमा खेती गर्दै आएका किसान पछिल्लो समय प्रविधिमा जोडिएसँगै थोरै किसानले धेरै क्षेत्रफलमा खेती गर्न सक्ने भएको देखेका छौँ ।’

कृषि ज्ञान केन्द्रमार्फत कृषकलाई कृषि यन्त्रमा विभिन्न खाले अनुदान दिँदै आएको प्रमुख तिवारीले जानकारी दिए । परम्परागत रूपमा खेती गर्दै आएका किसानलाई पछिल्लो समय प्रविधिमैत्री बनाउँदै लगेपछि काममा सहजतासँगै उत्पादनसमेतमा राम्रो हुँदै गएको उनले बताए ।

‘पहिले किसान परम्परागत रूपमा धेरै दिन र मिहिनेत लगाएर खेती गर्ने गरेका थिए । तर, अहिले प्रविधिले गर्दा थोरै समयमा धेरै खेती गर्न सफल हुनुभएको छ,’ उनले भने, ‘प्रविधिले गर्दा थोरै जनसंख्याबाट पनि धेरै खेती गर्ने र उत्पादन लिन सकिने भएको छ ।’ -रासस
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार