
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढन आउने वातावरण बनाउनु पर्ने बताएका छन् । राष्ट्रिय, निजी तथा आवासीय विद्यालय एसोसिएसनको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता महरले उक्त धारणा राखेका हुन् ।
महरले सरकारलाई बजेटमा यथोचित व्यवस्था गरेर विदेशी विद्यार्थीलाई छात्रवृत्तिको अवसर प्रदान गर्न सुझाव दिएका छन् । ‘यस प्रकारको छात्रवृत्तिले नेपालको अन्तर्राष्ट्रिय सम्म्बन्ध मजबुत बनाउनुका साथै शिक्षा प्रणालीमा विश्वासनीयतासमेत निर्माण गर्न मद्दत पुग्छ । शिक्षा भूराजनितिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण कडी बनेको छ । यस क्षेत्रमा सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ,’ महरले भने ।
नेपाललाई एक प्रमुख शिक्षा हब बनाउन उनले केही महत्त्वपूर्ण पक्ष पनि प्रस्तुत गरेका छन् । उनले नेपालको भौगोलिक अवस्थिति र असंलग्न परराष्ट्र नीति प्रमुख फाइदाका रूपमा रहेको बताए ।
‘भारत र चीनजस्ता ठूला मुलुकको नजिक रहेको नेपालले व्यापारिक सम्भावना तथा शिक्षा क्षेत्रमा ठूलो योगदान दिन सक्छ । नेपालले प्राकृतिक र जैविक विविधता, आयुर्वेद, पर्वतारोहण र मेडिकल शिक्षाजस्ता क्षेत्रमा अध्ययन तथा अनुसन्धानको ठूलो अवसर प्रदान गर्न सक्छ,’ महरले भने ।
उनले नेपालले सही रणनीति र योजनासँग विश्वस्तरीय शिक्षा प्रदान गर्न सम्भव रहेको धारणा राखेका छन् । शिक्षा क्षेत्रमा सही मार्गदर्शन र संशाधनको प्रयोग गरेर नेपाललाई विश्वभरका विद्यार्थीको आकर्षणको केन्द्र बनाउन सकिने उनको भनाइ छ ।
‘शिक्षा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ’
यसका साथै उनले अधिकारको आन्दोलनसँगै कर्तव्य निर्वाहमा नचुक्न निजी क्षेत्रलाई सुझाव दिएका छन् । ‘समाजको हरेक वर्ग आफ्नो अधिकारको संघर्षमा छ । अरुको अधिकारको चिन्ता देखिँदैन । कर्तव्य निर्वाहमा पनि कन्जुस्याइँ देखिन्छ । थाति रहेको विद्यालय शिक्षा विधेयकमा पनि सबैले अधिकार मात्र खोजिरहनु भएको छ,’ उनले भने ।
विधेयक पास गर्न अधिकारका सवालमा सबैले थोरै आफ्नो तर्फबाट सम्झौता नगरे विधेयक ठीक ठाउँमा नपुग्नेमा शंका व्यक्त गर्दै नेता महरले उक्त कुरा बताएका हुन् । त्यसैले विधेयक पास गर्न सबैको दबाबका साथै केही सम्झौता पनि आवश्यक रहेको उनको धारणा छ ।
नेता महरले निजी क्षेत्रको लगानी सुरक्षाका सवालमा कांग्रेस दृढ र प्रतिवद्ध रहेको बताएका छन् । ‘कांग्रेस खुला बजारमा विश्वास गर्ने पार्टी हो । थ्री पी पब्लिक प्राइभेट पार्टनरसिप अवधारणाबाट कांग्रेस एक इन्च पछि हट्दैन,’ उनले भने ।
निजी क्षेत्रको लागनी सुरक्षा प्रत्याभूत गराउने सवालमा पार्टी सभापति शेरबहादुर देउवा पनि गम्भीर रहेको उनले प्रस्ट पारेका छन् । सभापति देउवासँग शिक्षा क्षेत्रको लगानी सुरक्षाका विषयमा आफूहरूको छलफल भएको र त्यस विषयमा सभापति देउवाले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रस्ट पारेको महरले स्मरण गरे ।
‘हाम्रो पार्टी सभापतिज्यूले म नेपालको प्रधानमन्त्रीसँग कुरा गर्छु । नेपालको संविधानले निजी लगानीको ग्यारेन्टी गर्ने भनेको छ । त्यसकारण कांग्रेस त्यसभन्दा पछाडि फर्किन सक्ने अवस्था छैन । प्रधानमन्त्रीसँग कुरा गरेर शिक्षा विधेयकमा निजी क्षेत्रको लगानीको आश्वस्तताको विषय पूरा गर्छु भन्नुभएको छ,’ महरले भने । उनले निशंकोच शिक्षा क्षेत्रको समृद्धिका लागि काम गर्न सुझाव दिएका छन् ।