राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते हुने भएको छ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी एसोसिएसनले फागुन १६ र १७ गते अधिवेशन हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष सुवास न्यौपानेले महाधिवेशनको सबै तयारी पूरा भइसकेको बताए ।
महाधिवेशन निजी विद्यालयसँग जोडिएका नीतिगत एवं व्यवहारिक मुद्दाहरु तथा समसामयिक विषयवस्तुप्रति विशिष्ट ढंगले छलफल गरी निकास दिनेमा केन्द्रित हुने अध्यक्ष न्यौपानेको भनाइ छ ।
राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीच कतिपय मुद्दामा देखिएका असमझदारीलाई समेत निराकरण गर्दै अगाडि बढ्न महाधिवेशनले स्पष्ट दिशा निर्देशन गर्ने विश्वास व्यक्त गरे । उनले मुलुकले नयाँ शिक्षा ऐन पाउन नसक्नु दुःखको विषय भएको बताए । प्रविधिको विकाससँगै शिक्षा क्षेत्र पनि अघि बढ्नुपर्ने तर नेपालको शिक्षा नीति ५३ वर्ष पुरानो रहेको उनको जिकिर छ ।
उनले राष्ट्रिय महाधिवेशनले शिक्षा क्षेत्रमा देखिएका समस्याबारे समाधान गर्ने विश्वास व्यक्त गरे ।