
फाइल फोटो
गत असोजमा बाढीले बगरमा परिणत बनाएको ललितपुर महानगरपालिका- ९ मा रहेको च्यासल खेल मैदान मर्मतका लागि तत्काल दुई करोड आवश्यक पर्ने भएको छ ।
मनोहरा खोला किनारमा रहेको च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन लागि तत्काल दुई करोड लाग्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए । बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेको उनले जानकारी दिए ।
च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका- ९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सरकोकार भएकाहरू मौन रहेको उनको भनाइ छ । खेलकुद परिषद्सँग १० लाख माग गरेका तर हालसम्म निर्णय नभएको उनले सुनाए ।
ललितपुर महानगरपालिका- ९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिन्छन् । दशरथ रङ्गशालाको विकल्पका रुपमा परिषद्ले २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको थियो ।