
खानेपानीमन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निकट भविष्यमै निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानी जडान तथा वितरणको कार्य गरिने बताएका छन् ।
वीरगन्ज महानगरपालिका १३, राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कुलको १६औं वार्षिकोत्सव समारोहमा आइतबार उनले चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा खानेपानीका धारा वितरण र जडानका लागि गृहकार्य भइरहेको बताए ।
उनले भने, ‘चाँडोभन्दा चाँडो देशभरका सामुदायिक विद्यालयमा हामी निःशुल्क खानेपानीका धारा जडान तथा वितरण गर्दै छौं । अब सामुदायिक विद्यालयमा खानेपानीका धारा जडान र वितरणमा कुनै शुल्क लाग्ने छैन । शून्य पैसामा सामुदायिक विद्यालयमा पानीका धारा जडान गरिनेछन् ।’ सामुदायिक विद्यालयहरूमा निःशुल्क रूपमा खानेपानी जडान गर्नका लागि शिक्षामन्त्रीसँगको समन्वयमा आफूले उक्त कार्य अघि बढाइरहेको मन्त्री यादवले जानकारी दिए ।
सामुदायिक विद्यालयहरूमा विद्यार्थीका लागि निःशुल्क खानेपानी वितरण तथा जडान गर्न शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयबाट सहसचिवको नेतृत्वमा टोली गठन गरिएको र उक्त टोलीले आवश्यक गृहकार्य गरिरहेको मन्त्री यादवको भनाइ थियो ।
सोही कार्यक्रममा मन्त्री यादवले एक वर्षभित्र २७ प्रतिशत शुद्ध खानेपानीको उपलब्धता ५७ प्रतिशतसम्म पुर्याउने लक्ष्यसहित काम भइरहेको बताए । उनले भने, ‘दुर्गम क्षेत्रमा रहेका दाजुभाइ-दिदीबहिनीहरूले बोकेर पानी खानुपर्ने अवस्थाको अन्त्य गर्न लागि परेको छु । दातृ निकायको सहकार्यमा म यसको अन्त्य गर्छु ।’
नेपालका नागरिकसहित देशभरका सामुदायिक विद्यालयहरूमा निःशुल्क रूपमा शुद्ध खानेपानी जडान तथा वितरण कार्य निःशुल्क रूपमा उपलब्ध गराइने कुरामा विश्वस्त रहन मन्त्री यादवले सबैलाई आग्रह गरे । उनले भने, ‘मसँग काम गर्ने आँट र अठोट छ । मेरो कार्यकालमै सबै नागरिकलाई शुद्ध खानेपानी वितरण गरिनेछ ।’