
प्रधानमन्त्री केपी ओलीले जलवायु परिवर्तनका कारण नेपालले बहु-संकटको सामना गर्नुपरेको बताएका छन् ।
सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गर्दै मंगलबार उनले नेपालले विश्वव्यापी रुपमा बहु-प्रकोपीय संकटको सामना गर्नुपरिरहेको दाबी गरे । उनले प्रकृतिमाथिको दोहनले जलवायु परिवर्तनका असर बढाइरहेको र नेपालले त्यसको प्रत्यक्ष प्रभाव व्यहोर्नुपरेको उल्लेख गरे ।
समकालीन मुद्दाहरूलाई सम्बोधन गर्दै बहु-संकटको सामना गर्न साझा संकल्प जरुरी रहेको ओलीको भनाइ छ । २०१९ मै सगरमाथा संवादको परिकल्पना गरे पनि कोरोनालगायत कारण सफल हुन नसकेको ओलीले बताए ।
उनले संवाद गर्न अन्तर्राष्ट्रिय मञ्चहरुको कमी नभए पनि सगरमाथा संवादले जलवायु परिवर्तनका कारण नेपाललगायत देशहरुले भोग्नुपरेको समस्याबारे उजागर गर्न सकिने र विश्वको ध्यान केन्द्रित गर्न सकिने पनि बताए ।
प्रधानमन्त्रीले गरे सगरमाथा संवादको शुभारम्भ : जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने
प्रधानमन्त्री ओलीले नेपालको शान्तिप्रक्रियाले विश्वलाई धेरै कुराहरु सिकाउन सक्ने पनि दाबी गरे । उनले नेपालमा राजनीतिक मुद्दाहरु धेरै हदसम्म समाधान भइसकेकाले सामाजिक-आर्थिक रूपान्तरणमा पूर्ण रूपमा केन्द्रित रहेको बताए । नेपालको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ आर्थिक समानता र सामाजिक कल्याणमा आधारित रहेको उनको भनाइ छ ।
जलवायु परिवर्तन, बसाइँसराइ र दिगो विकासका मुद्दाहरूमा नेपालमा महत्त्वपूर्ण बन्दै गएको प्रधानमन्त्री ओलीले बताए ।