
गृहमन्त्री रमेश लेखकले सरकार सबै नागरिकको मानवअधिकार रक्षाको लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत पुग्नुभएका गृहमन्त्री लेखकले सबै नागरिकको मानवअधिकारप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
पूर्वगृहमन्त्री रवि लामिछानेमाथि कुनै मानवअधिकारको कार्य प्रहरीबाट नभएको उल्लेख गर्दै मन्त्री लेखकले लामिछानेकै सुरक्षाको लागि राति अड्डासार गरिएको दाबी गर्नुभयो ।
“हामी सबै नागरिकको मानवअधिकारप्रति प्रतिबद्ध छौँ,” मन्त्री लेखकले भन्नुभयो, “कसैको मानवअधिकार हनन भएको छैन र हुँदैन, जहाँसम्म रवि लामिछानेको कुरा छ । उहाँकै सुरक्षाको लागि राति नै चितवनबाट पोखरा लगिएको हो, यसमा कहाँ मानवअधिकार हनन हुन्छ ?”
लाखौँ सर्वसाधारण जनताको रकम दुरुपयोग भएको सन्दर्भमा अनुसन्धान भइरहेको उल्लेख गर्दै मन्त्री लेखकले भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम भएको बताउनुभयो ।
“अनुसन्धान भइरहेको विषयमा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकिल कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ, अनि यो भीडले हो न्याय निरूपण गर्ने ?”, गृहमन्त्री लेखकले प्रश्न गर्नुभयो । रवि लामिछाने मात्रै नभएर सहकारी अपचलनमा धेरै व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको भन्दै यसको निर्क्योल अदालतले गर्ने उहाँले बताउनुभयो ।
मन्त्री लेखकले सडकमा भीड जम्मा नगर्न र अदालतको कामलाई प्रभावित नगर्न सुझाव समेत दिनुभयो । उहाँले भन्नुभयो, “न्याय दिने अदालतले होला नि !, भीडले न्याय दिन्छ र ?”
उहाँले अहिलेको सरकार आगामी निर्वाचनसम्म रहने भन्दै यसमा आशङ्का गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पार्नुभयो ।