काठमाण्डौँ , कात्तिक ९ :

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप गरिएको छ। 

जिल्ला अदालत कास्कीले रवि सहित छविलाल जोशी र लिला पछाई‌लाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरि सोही दिन राति पोखरा लगिएको थियो । 

शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि ६ दिनको म्याद दिएको थियो ।

सोही प्रकरणमा असोज ६ मा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशी पनि कास्की प्रहरी हिरासतमै छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो । 

उक्त प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार रहेका छन् ।