ललितपुर, असोज ५ :

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र नेता कृष्णगोपाल श्रेष्ठबीच चर्काचर्की भएको छ। बैठक सञ्चालनको विषयलाई लिएर श्रेष्ठले ओलीलाई विधि र प्रक्रियाविपरीत बैठक सञ्चालन गर्न खोजेको भन्दै आपत्ति जनाएपछि विवाद चर्किएको हो।

केन्द्रीय कमिटीको बैठक पार्टीका महासचिवले सञ्चालन गर्ने प्रचलन रहे पनि ओलीले आफैं बैठक सञ्चालन गर्न खोजेपछि श्रेष्ठले आसनबाट उठेर त्यसको विरोध गरेका थिए।

‘यो काम महासचिवको हो। तपाईंले सञ्चालन गर्न मिल्दैन। विधि प्रक्रियाअनुसार जानुपर्छ,’ श्रेष्ठले ओलीलाई भनेका थिए। ओलीले भने श्रेष्ठलाई तत्काल नबोल्न आग्रह गर्दै ‘तपाईं बस्नुस्। तपाईं अहिले बोल्न मिल्दैन,’ भनेका थिए। त्यसपछि श्रेष्ठ थप आक्रोशित हुँदै ओलीलाई प्रतिप्रश्न गरेका थिए।

श्रेष्ठ पछिल्लो समय ओलीको कार्यशैलीप्रति सार्वजनिक रूपमा प्रश्न उठाउने नेताका रूपमा देखिएका छन्। तर विगतमा भने उनी ओलीका प्रखर समर्थकका रूपमा प्रस्तुत हुँदै आएका थिए।

तत्कालीन शिक्षामन्त्री रहेका बेला श्रेष्ठले ओलीको प्रशंसा गर्दै उनलाई फुटबलका महान् खेलाडी पेलेसँग तुलना गरेका थिए। उनले ओलीलाई ‘फुटबलको पेले’ भन्दै उनलाई कसैले हटाउन नसक्ने अभिव्यक्तिसमेत दिएका थिए।

ओलीको प्रशंसा गरेर नथाक्ने श्रेष्ठ अहिले पार्टी बैठकमै ओलीको कार्यशैली र निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै खरो रूपमा प्रस्तुत भएपछि एमालेभित्रको बदलिँदो राजनीतिक सम्बन्धबारे चासो बढेको छ।