
राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
यसअघि आजै उक्त विधेयक सभामा छलफलका लागि पेस गरिएको थियो । विधेयक छलफलका लागि पेस भई स्वीकृत गरेर पारित गरिएको हो । प्रस्ताव पेस गर्दै मन्त्री चौधरीले रोगको वर्तमान अवस्था, सङ्क्रामक रोग नियन्त्रणका लागि हालको कानुनी व्यवस्था पर्याप्त नभएको, विधेयकको उद्देश्य तथा विधेयकमा समावेश भएका मुख्यमुख्य विषयका सम्बन्धमा जानकारी गराएकी थिइन्।
विधायन व्यवस्थापन समितिमा यस विधेयकका विभिन्न दफामा सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनु भई संशोधनमाथि समितिमा भएको दफाबार छलफलबाट यस ऐनलाई थप समृद्ध र कार्यान्वयन योग्य बनाइएको छ भन्ने विश्वास लिइएको पनि उनले बताइन् ।
विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दङ्गाल, सुरेश आलेमगर, खम्मबहादुर खाती, रामकुमारी झाँक्री, विष्णुबहादुर विश्वकर्मा, सम्झना देवकोटाले भाग लिएकी थिइन् । सभाको अर्को बैठक असोज ८ गते बिहीबार दिउँसो १:१५ बजे बस्ने अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी गराए।