
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ। बैठकको सुरुवातमा सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न तीन मिनेटको समय निर्धारण गरेका छन्। प्रतिवेदन अध्ययनपछि धारणा राख्दा विषय केन्द्रित भएर बोल्न उनले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए।
निर्धारित समयमा आफ्ना सबै विषय राख्न नभ्याए लिखित रूपमा सुझाव तथा धारणा प्रस्तुत गर्न सकिने बताइएको छ।बैठकको अनुशासनबारे जानकारी दिँदै ओलीले मंगलबारदेखि बैठकस्थलमा मोबाइल फोन नल्याउन निर्देशन दिए। बैठकमा मोबाइलबाट भिडियो खिच्न, अडियो रेकर्ड गर्न तथा लाइभ गर्नसमेत रोक लगाइएको छ।
त्यसैगरी, बैठकमा आफ्नो आसन छाड्दा वा बोल्न चाहँदा अध्यक्षको अनुमति लिनुपर्ने व्यवस्था गरिएको जानकारी ओलीले दिए। अध्यक्षको राजनीतिक प्रतिवेदन अध्ययनका लागि आजको बैठक चाँडै टुंग्याइने र मंगलबारदेखि प्रतिवेदनमाथि छलफल अघि बढाइने बताइएको छ।