काठमाडौं, असोज ४ :

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राजनीतिक संरक्षणको आधारमा ठगलाई जोगाउन नहुने धारणा व्यक्त गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित सहकारी ठगीसम्बन्धी पुस्तक विमोचन कार्यक्रममा उनले सहकारी ठगीमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।  सहकारी ठगीका कारण सबैभन्दा बढी साना बचतकर्ता पीडित बनेको उनले बताए।

उनले राजनीतिक संरक्षणको आधारमा ठगलाई जोगाउन नहुने भन्दै रास्वपाले सहकारी ठगीमा संलग्न पार्टी सभापति रवि लामिछानेलाई जोगाउन देशव्यापी आन्दोलन नै गरेको आरोप लगाए।

ठगीमा संलग्नलाई जोगाउनु पर्छ भनेर आन्दोलन गर्ने रास्वपा पहिलो पार्टी भएको उनको जिकिर थियो । उनले आफ्नो पार्टीसँग जोडिएकामाथि भने कारबाही गरिएको बताए ।  ज्ञवालीले सहकारी पीडितको रकम फिर्ता हुने सुनिश्चितताका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने बताए।