काठमाडौं, असोज ४ :

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको अन्तिम डिलमा पुगेको बताएका छन् । आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा चमत्कार भएन भने पार्टी विभाजन डिलमा पुगेको उल्लेख गरेका छन्।

‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ। पार्टीका आदरणीय सबै साथीहरू, तैपनि हामी सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेका छौँ,’ उनले भनेका छन्।

खड्काले मिल्छ भने सर्वोच्च अदालतले आफूहरूले दिएको मुद्दामा अग्राधिकार राख्ने प्रबन्ध गर्न समेत आग्रह गरेका छन्।  गगन थापा नेतृत्वको  कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत शनिबारबाट सुरु गरेको वडा अधिवेशन आज सकिँदैछ।

खड्काले आफू यो अधिवेशन प्रक्रियामा सामेल नरहेको पनि उल्लेख गरेका छन्। अदालतमा आफूहरूले दिएको मुद्दा रहेकोले महाधिवेशनमा सामेल नरहेको उनको भनाइ छ। देउवा तथा तर खड्का पक्षका सबैजसो नेताहरु जारी महाधिवेशन प्रक्रियामा सामेल छन्।