काठमाडौं, असोज २ :

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ७ मा वर्षाका कारण भत्केका र बिग्रिएका सडकहरूको मर्मत कार्य धमाधम भइरहेको छ। 

निरन्तरको वर्षापछि स्थानीयवासीहरूको दैनिक जनजीवनमा परेको असरलाई मध्यनजर गर्दै नगरपालिकाले फिल्ड निरीक्षण पश्चात 'र्‍यापिड रेस्पोन्स प्रोग्राम' (आरआरपी) अन्तर्गत प्राथमिकताका आधारमा दैनिक रूपमा सडक सुधारको काम गरिरहेको हो।

स्थानीय जनगुनासो र टिपोट दर्ताको प्राथमिकताका आधारमा वडाका विभिन्न ६ स्थानमा मर्मत तथा संरक्षणका काम सम्पन्न भएको जनाइएको छ। जसअन्तर्गत हरहर महादेवदेखि बोडे पुल जाने बाटोमा खाडलका कारण आवतजावत नै जोखिमपूर्ण बनेकाले पाइप मर्मत गरी ग्राभेल हालेर बाटो सुचारु गरिएको छ।

त्यसैगरी बाह्रसटर चोकमा मंगल मर्मत गरिएको छ भने बिस्टगाउँमा हिलोका कारण हुन सक्ने सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ग्राभेल हालेर आवतजावत सहज बनाइएको छ।

यसैगरी बाढीका कारण मनोहरा खोला नजिकैको बस्ती जोखिममा परेकाले सो क्षेत्रको संरक्षण गरिएको छ भने प्राणनाथ मार्गमा ड्रेनमाथि स्ल्याब ढलान गरी सडक सञ्चालनमा ल्याइएको र कार्की हाइटमा प्लम्ब वाल निर्माण गरी पहिरो नियन्त्रणको काम गरिएको जनाइएको छ। लगातारको वर्षाका कारण अझै धेरै ठाउँमा सडक मर्मत गर्नुपर्ने आवश्यकता रहेकाले बाँकी स्थानहरूमा पनि यथाशीघ्र काम अघि बढाइने नगरपालिकाले जनाएको छ।